काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेताहरु दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम प्रसाद तिमल्सिना र राजाराम श्रेष्ठलाई आज नै स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनीहरुले राप्रपाको बृहत्तर हित र एकतामा आँच आउने गरि पार्टीको नाम दुरुपयोग गर्दै भेला, छलफल र बैठक गरेको जनाइएको छ ।
पार्टीको हित विपरीतका गतिविधि जारी राख्ने, अनधिकृत वार्ता समिति बनाउने कार्यमा संलग्न भएकालाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण सोध्ने र अनुशासन समितिलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरिएको पनि उनले बताए ।