काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुकमा चरित्र हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
ब्युरोले सिन्धुली घर भई कीर्तिपुर नगरपालिका-६ टौदह बस्ने ३१ वर्षीय विकास भन्ने राजेश विक र रूपन्देहीको सैनामैना नगरपालिका-४ मुर्गिया बस्ने ३६ वर्षीय जीवन दमाईलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
उनीहरूलाई प्रहरीले छुट्टाछुट्टै मुद्दामा पक्राउ गरेको हो।विकासले फेसबुकमा चार जना नाबालिकाहरूको तस्बिर प्रयोग गरी नक्कली अकाउन्ट खोलेको आरोप छ। उनले त्यसरी नक्कली अकाउन्ट खोलेर ती नाबालिकाका आफन्त तथा साथीभाइहरूलाई अश्लिल शब्द प्रयोग गरेको प्रहरीले जनाएको छ।
उनलाई पक्राउ गरी शुक्रबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न समेत प्रहरीले अनुमति लिएको छ।त्यसैगरी वैदेशिक रोजगारीको लागि ओमानमा रहेकी महिलाको पनि चरित्र हत्या गरेको उजुरी परेपछि प्रहरीले जीवनलाई पक्राउ गरेको हो।
उनले पनि नक्कली अकाउन्ट खोलेर ती महिलाको फोटो राखेका थिए। अश्लिल क्याप्सन समेत राखेर फेसबुकमा चरित्र हत्या गरेको भन्दै उनीविरूद्ध जाहेरी परेको थियो।उनीमाथि पनि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट चार दिन हिरासतमा राख्न अनुमति पाएको छ।उनीहरूमाथि प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
