काठमाडौँ । राष्ट्रियसभाको मंगलवारको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक पेश भएका छन् ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ पेश गरे ।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ र ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेश गरेका थिए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले आन्तरिक कारणले मात्र नभई कहिलेकाहीँ बाह्य कारणबाट राजधानीको सुरक्षा संवेदनशील हुने गरेकाले राजधानीको सुरक्षा केन्द्र मातहत राख्ने गरी विधेयक संशोधन गरिएको बताए ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र कहिलेकाहीँ अस्वभाविक सुरक्षाका चुनौतीलाई बहन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘उपत्यकाभित्रको सुरक्षा पनि प्रदेश प्रहरीको समन्वयमा संघीय प्रहरीले लिन्छ ।’ सबै विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदलाई असार २९ गते अपराह्न २ बजेभित्र संशोधन प्रस्ताव दर्ता गर्न भनिएको छ ।