काठमाडौँ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयमा तालाबन्दी गरेको छ ।
सोमबार विहान उपत्यकाका विभिन्न क्याम्पसका नेताहरुले व्यवस्थापन संकाय डिन डिल्लीराज शर्माको राजीनामा माग गर्दै कार्यालयमा तालाबन्दी गरेका हुन् ।
असार २२ गते मात्रै बीबीए छैटौं सेमेस्टरको ‘एमजीटी २०३ स् अर्गनाइजेसन बिहाभियर’को प्रश्नपत्र मोर्डन कलेजको ‘प्रिबोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेपछि नेविसंघले डीनको राजीनामा मागेको छ ।
यसअघि नेविसंघका अध्यक्ष दुजाङ शर्माले एक विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा राजीनामा दिन माग गरेका थिए । त्रिविले आइतबार मात्र हुबहु प्रश्नपत्र प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाएको छ । तर नेविसंघले डिन डिल्लीराज शर्माले राजीनामा दिनुपर्ने सर्त राखेर आन्दोलन थालेको हो ।