धनगढी । नेकपा एमालेले निर्माणको अन्तिम चरणमा पुगेर पनि सञ्चालन अनिश्चित बनेको गेटा मेडिकल कलेजका विषयमा सरकार गम्भीर नबनेको ठहर गरेको छ ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्म पाठकद्वारा हस्ताक्षरित एक विज्ञप्तिमार्फत संरचना तयार गरेर पनि सञ्चालनमा जोड नदिनु सरकारको गैर जिम्मेवारपूर्ण काम भएको टिप्पणी गरिएको छ ।
‘हालै नेपाल सरकारले ल्याएको आव २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा गेटामा मेडिकल कलेजका बारेमा आवश्यक सम्बोधन नभएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानकर्षण भएको छ,’ उनले भनेका छन्, ‘अविलम्ब उक्त विषयलाई सम्बोधन गर्न तथा आवश्यक जनशक्ति र बजेटको व्यवस्था गर्न हाम्रो पार्टी नेपाल सरकारसँग हाम्रो पार्टी जोडदार माग गर्दछ।’
सुदूरपश्चिम प्रदेश स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास तथा स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्ति विकासका सन्दर्भमा देशका अन्य प्रदेशभन्दा सधै पछाडी परेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ।
गेटा मेडिकल कलेजका लागि हालसम्म साढे तीन अर्ब रूपैयाँ खर्च भइसकेको छ। तर, ‘मोडालिटी’ बारे अन्योलता छ । यसक्रममा आज संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको संसदीय टोलीले निरीक्षण गर्दैछ ।
