काठमाडौं। साझा यातायातले बिहीबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ।
साझाले पहिलो चरणमा ल्याएको तीनवटा विद्युतीय बस आजदेखि सञ्चालनमा ल्याएको हो।
साझा यातायात अध्यक्ष कनकमणि दीक्षितले काठमाडौं उपत्यकामा चल्ने बसको साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले उद्घाटन गरेको जानकारी दिए।
तीनवटा बसमध्ये दुईवटा नयाँबसपार्क–बालाजु–ठमेल–रत्नपार्क–सिंहदरबार–नयाँबानेश्वर–मीनभवन हुँदै एयरपोर्टको रुटमा चल्नेछन् ।
त्यस्तै, अर्को लगनखेल–लैनचौर–बाँसबारी हुँदै बूढानीलकण्ठको रुटमा सञ्चालन हुनेछ। यी बसमा चालक र सहचालक महिला छन्।
नेपाल सरकारले २०७६ असार ३१ गते विद्युतीय परिवहन प्रवर्धन गर्न साझा यातायात सहकारी संस्था लि.मा तीन अर्ब लगानी गरेको थियो। सरकारको लगानीका कारण संस्थालाई विद्युतीय बसको ‘फ्लिट’ निर्माण गर्न सम्भव भएको साझाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

ब्याट्रिबाट चल्ने बस प्रविधि नयाँ भएकाले साझा यातायातले तीन चरणमा विद्युतीय सवरी भित्र्याउने योजना बनाएको छ। पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी ८.५ मिटर लम्बाईको ४० बस खरिद गरिएका छन् जुन चीनको नानजिङ सहरस्थित ‘सिएचटिसि’ कम्पनीले उत्पादन गरेको हो।
दोस्रो चरणमा १०–१२ मिटर लम्बाइको विद्युतीय शहरी बस तथा लामो दूरीको विद्युतीय बस खरिदको प्रक्रिया अगाडि बढिसकेको साझा यातायातले जनाएको छ।