धनगढी। उपमेयरसहित एमालेका कार्यपालिका सदस्यहरूको बहिस्कारकाबीच धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भएको छ ।
उमयेर कन्दकला रानासहित एमालेबाट निर्वाचित जनप्रतिनिधिको विरोधबाबीच नगर प्रमुख गोपाल हमालले आगामी आर्थिक वर्षको बजेट बहुमतले पास भएको घोषणा गरेका हुन् ।
सोमबार बसेको आठौँ नगरसभाको तेस्रो बैठकमा उपप्रमुख रानासहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले आफ्ना योजनाहरू नसमेटिएको भन्दै विरोध जनाएका थिए । विरोधपछि नगर सभा बैठक केहीबेर रोकिएर एक घण्टापछि सञ्चालनमा आएका थियो ।
उपमेयरसहित एमालेका जनप्रतिनिधिहरूको विरोधपछि बैठकमा केहीबेर चर्काचर्की भएपछि बैठक फेरि एक घण्टा अवरुद्ध भएको थियो । उपप्रमुख रानाले आफू योजना तर्जुमा संयोजक भएपनि जानकारी नभएको भन्दै बजेटमाथिको छलफल लम्ब्याउन अडान राखेकी थिइन् । नगर प्रमुख हमालले बजेट पास भएको घोषणा गरेपछि पनि उनले यो निर्णयमा आफ्नो कुनै सहमति नरहेको प्रतिक्रिया दिइन् ।