काठमाडौँ । राहदानी विभागले काठमाडौं उपत्यकाका जिल्लाहरू र काभ्रेमा एक साता तथा अन्य जिल्लाहरूमा १५ दिनमै राहदानी उपलब्ध हुने जनाएको छ ।विभागले आइतबार सूचना जारी गर्दै सेवाग्राहीहरूलाई जिल्लाबाटै राहदानी लिनको लागि प्रोत्साहन गरेको हो ।
एक व्यक्तिले जिल्लाबाट साधारण राहदानी लिँदा ५ हजार रुपैयाँ लाग्छ भने काठमाडौं आएर राहदानी विभागबाट सोही साधारण राहदानी लिनको लागि १२ हजार तिर्नुपर्ने हुन्छ ।राहदानी सेवालाई छिटो, छरितो र सरल तुल्याउन विभाग सधैँ क्रियाशील हुने पनि बताइएको छ ।
‘सुरुमा २–३ महिनासम्म लाग्ने सेवा प्रवाहको समय घटाएर हाल एक घन्टाभित्रै सेवा प्राप्त गर्न सक्ने प्रबन्ध मिलाइसकिएको छ,’ जारी सूचनामा भनिएको छ । विभागले सेवाग्राहीहरुको सहजताको लागि प्रत्येक दिन २४ सय जनाले अनलाइन फाराम भर्नसक्ने र फाराम भरिसकेपछि तुरुन्त १ देखि ४ दिनभित्र विभागमा राहदानी फाराम बुझाउन सक्ने र आदेवन गरेपछि दुई कार्यदिनमा राहदानी प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
विभागले आफ्नो क्षमता अभिवृद्धि गर्ने, सबै जिल्ला प्रशासन कार्यालयहरू र १७ वटा इलाका प्रशासन कार्यालयहरूबाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाएको जनाएको छ । विभागले विद्युतीय राहदानी प्रणालीमा समय सापेक्ष अद्यावधिक गर्नुका साथै अनलाइन प्रणालीको निरन्तर सुधार गरेको जनाएको छ ।