काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पाँच दलीय गठबन्धनले केन्द्रबाट निर्णय नभएसम्म राजीनामा नदिने भएका छन्।
पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आज ९शनिबार० अध्यक्ष माधवकुमार नेपालसमेतको उपस्थितिमा बसेको वाग्मती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेले तत्काल राजीनामा नदिने निष्कर्ष निकालेको हो।
बैठकपछि एकीकृत समाजवादीका नेताहरूले मुख्यमन्त्री पाण्डेले तत्काल राजीनामा नदिने बताएका हुन्। केन्द्रको पाँचदलीय गठबन्धनले निर्णय गरेर सरकारबाट फिर्ता बोलाए राजीनामा दिने तर सबै प्रदेश सरकारबारे गठबन्धनभित्र ठोस निर्णय हुनुपर्ने निष्कर्ष एकीकृत समाजवादीको रहेको ती नेतहरुको भनाइ छ।
नेकपा एसले अहिले दुई प्रदेशमा सरकारको नेतृत्व गर्दै आएको र वाग्मती छाड्नुपरेको अवस्थामा अर्को प्रदेशमा सरकारको नेतृत्व पाउनुपर्ने कुरा बैठकमा उठेको पनि उनले जानकारी दिए।
कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलका नेताले आधाआधा कार्यकाल मुख्यमन्त्री बन्ने लिखित सहमति भए पनि मुख्यमन्त्री पाण्डेले पद नछाडेको भन्दै माओवादी र कांग्रेसका सांसदहरुले उनलाई दबाब दिन हस्ताक्षर संकलन गरिसकेका छन्।
मुख्यमन्त्री पाण्डेले भने केन्द्रको निर्णय जे हुन्छ आफू त्यही गर्ने बताउँदै आएका छन्। उनले छाडेपछि मुख्यमन्त्री बन्ने तयारीमा रहेका वाग्मती प्रदेश कांग्रेस संसदीय दलका नेता एवं कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले प्रदेश सरकार परिवर्तनले केन्द्रीय गठबन्धनलाई कुनै असर नपर्ने बताएका छन्।
गत कात्तिक ११ गते मुख्यमन्त्री हुँदा पाण्डेलाई वाग्मती प्रदेशमा रहेका १०९ मध्ये ५९ सांसदको समर्थन गरेका थिए। जसमा माओवादीका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका एक सांसद छन्।