काठमाडौं। ‘स्वतन्त्र उम्मेदवारी अभियान’ को विशेष भेला सुरु भएको छ।
‘स्वतन्त्र उम्मेदवारी अभियान’ को विशेष भेला शनिबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो।
भेलाले आगामी निर्वाचनको रणनीति तय गर्नेछ। साथै, स्वतन्त्र उम्मेदवार बन्न आवश्यक मापदण्ड पनि तय गरिएको छ।
यी हुन् स्वतन्त्र उम्मेदवार बन्न आवश्यक मापदण्डः
– उम्मेदवार विरासत, पैसा, इतिहासको ब्याज र सम्प्रदायका आधारमा नभएर व्यक्तिगत क्षमता, योग्यता, कार्ययोजना र नैतिकवान् चरित्रका आधारमा तय हुने,
– उम्मेदवार अधिकतम ६८ वर्ष नकटेको हुनुपर्ने।
– सांसदका उम्मेदवारको न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्ने।
– चुनाव लड्ने घोषणा गरेकै दिने सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने।
– उम्मेदवार बन्न चाहने व्यक्तिको चरित्र स्वच्छ हुनुपर्ने, उम्मेदवारी घोषणा गरेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गर्नुपर्ने।
– जितेर गर्ने कामका बारेमा आफ्नो स्पष्ट कार्ययोजना र भिजन सार्वजनिक गर्नुपर्ने।
– प्रदेश वा संघको मन्त्री दाबी गर्ने व्यक्तिलेसम्बन्धित मन्त्रालयको विषयमा विज्ञता राखेको हुनुपर्ने।
– उम्मेदवार बन्ने व्यक्ति राज्यको नीति निर्माण गर्ने थलोमा स्वार्थ बाझिनेखालको हुन नहुने।
– विदेशमा ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रुपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न नसकिने।
– तीनपटकभन्दा बढी मन्त्री भइसकेकाहरुलाई मतदान गरिनेछैन।
– उम्मेदवार बन्ने व्यक्तिले परिवारको जीविकोपार्जनको वैधानिक स्रोत सार्वजनिकरुपमा खुलाउनुपर्ने।
– भ्रष्टाचारको अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न नपाउने।
– सांसद वा मन्त्री बनेर बनेर घुस खान्नँ, कुनै अनियमितता गर्दिनँ, जनताको पक्षमा काम गर्नेछु, त्यसो नगरे राजीनामा दिएर फिर्ता हुन तयार छु भन्ने प्रतिवद्धता जनाउनुपर्ने,
– संवैधानिक आयोग एवं राजदूतलगायत अन्य राजनीतिक नियुक्तिहरुमा हुने दलीय भागबन्डाको संसदमा खुलेर विरोध गर्ने प्रतिबद्धता जनाउनुपर्ने।
भेलामा काठमाडौंका मेयर बालेन्द्र शाहलाई प्रमुख अतिथिको रुपमा निम्त्याइएको छ। त्यस्तै धरान उपमहानगरका मेयर हर्क सम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमाललाई पनि निम्त्याइएको छ।
स्थानीय निर्वाचनमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएकाहरु भेलामा सहभागी छन्। स्थानीय निर्वाचनका स्वतन्त्र रुपमा उम्मेदवारहरुको यो पहिलो विशेष भेला हो।