कञ्चनपुर । कञ्चनपुरमा पछिल्लो समय युवाहरु लागुऔषधको जालोमा फस्दै गएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट दिनहुँजसो लागूऔषध प्रयोगकर्ताहरू पक्राउ परिरहेका छन् ।खासगरी भारतसंग सीमा जोडिएका क्षेत्रहरूमा यसको ओसारपसार बढी हुने गरेको छ ।
दोधारा चाँदनी र जिल्लाको दक्षिणी क्षेत्र बेलौरी, पुनर्वास र बेलडाडीका क्षेत्रमा खुलेआम लागूऔषधको ओसारपसार र प्रयोग भइरहेको पाइन्छ । प्रहरीले यिनै क्षेत्रबाट दिनहुँजसो लागूऔषधका प्रयोगकर्तालाई पक्राउ गरिरहेको छ ।
जिल्लामा आउने प्रहरी प्रमुखले पहिलो प्राथमिकता लागूऔषध नियन्त्रण नै गर्ने प्रमुख लक्ष्य रहेको बताउने गरेका छन् । उनीहरूले हरेक कार्यक्रममा लागूऔषध नियन्त्रणका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालयका तथ्यांकअनुसार चालु आर्थिक वर्षमा लागूऔषध प्रयोग तथा ओसारपसरामा संलग्न ६ महिला, २१० पुरुष र १३ भारतीय नागरिक गरी २२९ जना पक्राउ परेका छन् । उनीहरूबाट करिब ३४ किलोग्राम चरेस, ६ सय ग्राम खैरो हेरोइन, १६८२ ट्याब्लेट नाइट्राभेट, ४७६ ट्याब्लेट स्पास २७६ सिसी जाइजेपाम बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।
उनका अनुसार लागूऔषधसम्बन्धी १३६ मुद्दा दत्र्ता भएका छन् ।गत आर्थिक वर्षमा १४१ मुद्दा दत्र्ता भएको प्रहरीले जनाएको छ । २१६ पुरुष, ४ महिला र १० जना भारतीय नागरिक गरी २३० जना पक्राउ परेको बमले बताए । उनका अनुसार डेढ किलोग्राम चरेस, ८३९ ग्राम खैरो हेरोइन, ८२० ट्याब्लेट नाइट्राभेट, १७८ ट्याब्लेट स्पामो बरमद गरिएको छ ।बेलौरी र पुनर्वास क्षेत्रबाट कञ्चनपुरका मात्रै नभई कैलाली, बर्दिया र बाँके सम्मका युवाहरू लागूऔषधसहित पक्राउ परेका छन् ।
यसले समेत यो क्षेत्र लागूऔषधको ट्रान्जिट पोइन्ट बन्दै गएको देखिन्छ । दुई वर्षअघि लागूऔषध ओसारपसारमा संलग्न व्यक्ति र प्रहरीबीच गोली हानाहान भएको थियो । बेलौरी नगरपालिकाको सीमा क्षेत्रमा प्रहरीको गोली लागेर एक भारतीय नागरिकको समेत मृत्यु भएको थियो