धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक दोस्रो पटक स्थगित भएको छ । आइतबार दिउँसो तीन बजे बोलाइएको बैठक प्रदेश सभा सचिवालयले सूचना टाँस गरेर स्थगित भएको जनाएको हो ।
प्रदेश सरकारको आग्रहमा बैठक स्थगित गरिएको बुझिएको छ । यसअघि, गएको असार ८ गते बोलाइएको बैठक पनि स्थगित गरिएको थियो । प्रदेश सभा सदस्यहरुबाट चर्को विरोध हुने सङ्क्ेत देखिएपछि सरकारको आग्रहमा बैठक असार १२ गते सारिएको थियो ।
फेरि अर्को बैठक असार १६ गते बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले बताए । उनका अनुसार बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि सदनमा पेश गरेको बजेटमाथि छलफल हुने कार्यसूची रहेको थियो ।
प्रदेश सरकारले पेश गरेको बजेटमा सत्तापक्षका प्रदेश सभा सदस्यहरुले नै असन्तुष्टि जनाउँदै आएका छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बजेटको मर्मविपरित रहेको उनीहरुको आरोप छ ।
यसैबीच, बजेट संशोधनको माग गर्दै सामाजिक विकासमन्त्री गोविन्द बोहरासहित सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरु काठमाडौँ धाएका छन् ।