काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्यायाधीशको नियुक्ति राजनीतिक भागबण्डाभन्दा पनि निष्पक्ष र स्वतन्त्ररुपमा योग्यता तथा क्षमताका आधारमा हुनुपर्ने बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै विकृति र विसङ्गतिको सुरुआत न्यायाधीश नियुक्तिबाटै हुने गरेको प्रस्ट पारे ।
“हामीले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता र उसको निष्पक्षता, उसले आजसम्म गरेर आएको कामका आधारमा न्यायाधीशका निम्ति योग्य छ कि छैन भन्ने आधारमा हेरेनौँ, मेरो मान्छे र तेरो मान्छे भनेर न्यायाधीशको नियुक्ति ग¥यौँ, त्यसले गर्दा पटकपटक न्यायपालिकाभित्र राजनीतिक नियुक्त भयो भन्ने टिप्पणी आयो, विभिन्न प्रतिवेदनले पनि त्यही भन्छ,” उनले भने ।
उनले न्याय प्रणालीलाई सर्वसुलभ बनाउने र न्यायमा समान पहुँचका निम्ति सरकारले कानूनी सहायता कार्यक्रमलाई लामो समयदेखि सञ्चालन गर्दै आएको बताए ।
कानून मन्त्रालयअन्तर्गत नै कानूनी सहायता समिति रहेको जनाउँदै उनले जसले न्यायको पहुँचमा वृद्धि गर्ने विश्वास व्यक्त गरे। “नेपालको कानूनी प्रक्रियालाई कम खर्चिलो बनाउने विषयमा प्रश्न उठेको छ, मन्त्रालयको प्राथमिकता कुनै पनि विषयमा कानून बनाउँदा सरोकारवालासँग छलफल र अनुसन्धान गरेर मात्रै कानून निर्माण गर्ने भन्ने छ,”उनले भने ।