बुटवल । रहस्यमय ढंगले ज्यान गुमाएकी रुपन्देहीकी अमृता खत्री टण्डनको ७३ दिनपछि शुक्रबार दाहसंस्कार गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरकी अमृताको शुक्रबार माइती पक्षले दाहसंस्कार गरेको हो ।
प्रहरीले माइती र घर पक्षसँग बिहीबार सहमति जुटाएपछि माइती पक्ष दाहसंस्कारका लागि तयार भएको थियो । सोही सहमति अनुरुप अमृताको शुक्रबार तिलोत्तमा ३ स्थित मगरघाटमा दाहसंस्कार गरिएको अमृताका दाजु पुष्पक खड्काले जानकारी दिए ।
विभिन्न चरणमा भएको छलफलपछि बिहीबार दुवै पक्षबीच सहमति जुटेको हो । जस अनुसार घर पक्षले अमृताको नाममा कुनै काम गर्नेगरी अक्षयकोष बनाउने र छोराको शिक्षादिक्षाको लागि १४ लाख रुपैयाँ उनकै नाममा बैंकमा राखिदिने सहमति भएको छ ।