काठमाडौं। काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र वकिल रुद्र प्रसाद पोख्रेलबीच भएको १० करोड लेनदेनको डिलबारे छानबिन गर्न समिति गठन भएको छ।
अडियो सार्वजनिकपछि आकस्मिक रूपमा बसेको न्यायपरिषद् बैठकले न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो।
समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल छन्। समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
छानविन समिति गठन भएसँगै न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक लगाइएको छ ।
सम्बन्धित समाचारः
न्यायाधीश र वकिलबीच १० करोड डिल अडियो प्रकरणः आकस्मिक बोलाइयो न्यायपरिषद् बैठक
१० करोडको डिलमा मुछिएका न्यायाधीशले भने– अनुचित कार्य गरेको छैन, छानबिन होस्
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला र वकिले ख्रेलबीच १० करोड लेनदेन गर्ने अडियो सार्वजनिक भएको थियो। सार्वजिनक अडियोमा सिभिल सहकारीको रकम हिनामिना प्रकरणका मुख्य आरोपी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न न्यायाधीश कोइराला र वकिल पोख्रेलबीच १० करोड लेनदेनको डिल भएको सुनिन्छ।
कुराकानीका क्रममा पोख्रेलले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई समेत जिल्लाका मुख्य न्यायाधीश राजुकुमार खतिवडालाई भन्न लगाउने वाचा गरेको सुनिन्छ।
१० मिनेट लामो यो गोप्य अडियोमा गरिएको डिल असफल भएको थियो। २०७८ असोज १८ गते पक्राउ गरेको तमाङ रिहा नभएर पुस १४ गते पुर्पक्षका लागि थुनामा गएका छन्।
२ हजारभन्दा बढी निक्षेपकर्ताको ८ अर्व भन्दा बढी रकम ठगेका इच्छाराज र उनका सहयोगी अर्थात सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ डिल्ली बजार कारागारमा छन् ।
उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा चलिरहेको छ।