काठमाडौं। जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला आफूले कुनै अनुचित कार्य भएको नगरेको बताएका छन्।
१० करोडको डिलबारेको अडियो सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आफूले कुनै अनुचित कार्य भएको नगरेको बताएका हुन्।
एनले १० करोड डिलबारेको समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्। विभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको दाबी उनले गरेका छन्।
उनले आफूमाथि छानबिन गर्न न्याय परिषदलाई आग्रह गर्दै त्यसमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला र वकिल रुद्र प्रसाद पोख्रेलबीच १० करोड लेनदेन गर्ने अडियो न्यूज २४ टेलिभिजनले सार्वजनिक गरेको थियो।
सम्बन्धित समाचारः
न्यायाधीश र वकिलबीच १० करोड डिल अडियो प्रकरणः आकस्मिक बोलाइयो न्यायपरिषद् बैठक
सार्वजिनक अडियोमा सिभिल सहकारीको रकम हिनामिना प्रकरणका मुख्य आरोपी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न न्यायाधीश कोइराला र वकिल पोख्रेलबीच १० करोड लेनदेनको डिल भएको सुनिन्छ।
कुराकानीका क्रममा पोख्रेलले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई समेत जिल्लाका मुख्य न्यायाधीश राजुकुमार खतिवडालाई भन्न लगाउने वाचा गरेको सुनिन्छ।
१० मिनेट लामो यो गोप्य अडियोमा गरिएको डिल असफल भएको थियो। २०७८ असोज १८ गते पक्राउ गरेको तमाङ रिहा नभएर पुस १४ गते पुर्पक्षका लागि थुनामा गएका छन्।
२ हजारभन्दा बढी निक्षेपकर्ताको ८ अर्व भन्दा बढी रकम ठगेका इच्छाराज र उनका सहयोगी अर्थात सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ डिल्ली बजार कारागारमा छन् ।
उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा चलिरहेको छ।
अडियो सार्वजनिकपछि सोही विषयमा छलफल गर्न कायम मुकायम प्रधानन्यायाधीश कार्कीले आकस्मिक रूपमा बोलाएको न्यायपरिषद् बैठक अहिले बसिरहेको छ।