काठमाडौं। आकस्मिक रूपमा न्यायपरिषदको बैठक बस्दैछ।
कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो साढे १ बजे आकस्मिक रूपमा न्यायपरिषदको बैठक बोलाएका हुन्। तर, एजेण्डाबारे परिषदका सदस्यलाई केही जानकारी गराइएको छैन।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र वकिल रुद्र प्रसाद पोख्रेलबीच १० करोड लेनदेन गर्ने अडियो न्यूज २४ टेलिभिजनले सार्वजनिक गरेको थियो। स्रोतका अनुसार सोही विषयमा छलफल गर्न कायम मुकायम प्रधानन्यायाधीश कार्कीले आकस्मिक रूपमा न्यायपरिषदको बैठक बोलाएका हुन्।
सार्वजिनक अडियोमा सिभिल सहकारीको रकम हिनामिना प्रकरणका मुख्य आरोपी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न न्यायाधीश कोइराला र वकिल पोख्रेलबीच १० करोड लेनदेनको डिल भएको सुनिन्छ।
कुराकानीका क्रममा पोख्रेलले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई समेत जिल्लाका मुख्य न्यायाधीश राजुकुमार खतिवडालाई भन्न लगाउने वाचा गरेको सुनिन्छ।
१० मिनेट लामो यो गोप्य अडियोमा गरिएको डिल असफल भएको थियो। २०७८ असोज १८ गते पक्राउ गरेको तमाङ रिहा नभएर पुस १४ गते पुर्पक्षका लागि थुनामा गएका छन्।
२ हजारभन्दा बढी निक्षेपकर्ताको ८ अर्व भन्दा बढी रकम ठगेका इच्छाराज र उनका सहयोगी अर्थात सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ डिल्ली बजार कारागारमा छन् ।
उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा चलिरहेको छ।