बाजुरा। बाजुराको बूढीगङ्गा नदीमा पक्की पुल नहुँदा वर्षाको समयमा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ । नदीमा राखिने काठेपुल वर्षाका बेला बगाउने गरेकाले स्थानीय पीडित छन् ।
बूढीगङ्गा नगरपालिका–६ र त्रिवेणी नगरपालिका–८ को बूढीगङ्गा नदीमा हिउँदका बेला बर्सेनि काठेपुल राख्ने गरिएको छ । त्रिवेणी नगरपालिका–३ का दीपक भण्डारीले बूढीगङ्गा नदीमा पक्कीपुल नहुँदा वर्षाको समय यातायात सञ्चालनमा समस्या हुने गरेको बताउँछन् ।
उनका अनुसार हिउँदमा त्रिवेणीमा चल्दै आएका ती सवारीसाधन वर्षाको समय बूढीगङ्गा नगरपालिका–६, बाम्का बजारमै रोकिने गरेको छ ।
बूढीगङ्गा नदीको मौरेमा दुई वर्ष पहिल्यै नै झन्डै ५० मिटर लम्बाइ पक्की पुलको डीपीआर गरिएको थियो । बूढीगङ्गा नदीमा पक्कीपुल निर्माणका लागि डीपीआर गरिएको दुई वर्ष बितिसक्दा पनि काम भने अहिलेसम्म सुरु गरिएको छैन ।
वर्षाको समय सवारीसाधन बूढीगङ्गामै रोकिने गरेकाले त्रिवेणी नगरपालिका पन्धारा, किन्नी, छतारा, कैलान्डौलगायतका स्थानीयलाई नुन, तेल, दाल, चामललगायतका दैनिक उपभोग्य खाद्य सामग्री ढुवानी गर्न समस्या भएको छ । त्रिवेणीका केहीले हिउँदमै खाद्यान्नको जोहो गर्दै आएको भए पनि आर्थिक अवस्था कमजोर भएकाले वर्षाको समय खाद्यान्न ढुवानी गर्न निकै समस्या भोग्दै आएका छन् ।