काठमाडौँ । स्थानीय तहमा विजयी र उम्मेदवार बनेर सक्रिय राजनीतिमा होमिएका पत्रकारलाई नेपाल पत्रकार महासङ्घले जिम्मेवारी र साधारण सदस्यता समेतबाट हटाउन थालेको छ ।
नेपाली पत्रकारितालाई स्वतन्त्र, निष्पक्ष र व्यावसायिक तुल्याउन महासङ्घले चालेको शुद्धीकरणको अभियानअन्तर्गत सक्रिय राजनीतिमा लागेका पत्रकारलाई महासङ्घबाट बिदाइ गरिएको हो ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हालसम्मको विवरणअनुसार महासङ्घमा सदस्य रहेका ७७ जना पालिकाको प्रमुख उपप्रमुखसहित विभिन्न पदमा विजयी र २०७ जना उम्मेदवार रहेका थिए ।
विजयी भएकालाई महासङ्घले साधारण सदस्यताबाट स्वतः हटाएको छ भने उम्मेदवार भएका वा उम्मेदवार भएर फिर्ता लिएकालाई महासङ्घको केन्द्र, प्रदेश र जिल्ला कमिटीको पदाधिकारी वा कार्यसमितिमा रहेकाको हकमा उक्त जिम्मेवारीबाट मुक्त गराई साधारण सदस्य हटाउने तयारी गरेको छ ।
महासङ्घका केन्द्रीय सदस्य शान्त आङबुहाङ र दीपेन्द्र रुम्दाली राईसहित ३० जना सदस्यले उम्मेदवारी दिनुअगावै महासङ्घबाट राजीनामा दिएका थिए । महासङ्घले ती राजीनामा स्वीकृत भइसकेको जनाएको छ ।
महासङ्घका महासचिव रोशन पुरीका अनुसार महासङ्घका सदस्यमध्ये प्रदेश नं १ मा २८ जना उम्मेदवार र १४ जना विजयी, मधेस प्रदेशमा २४ जना उम्मेदवार र पाँच जना निर्वाचित, बागमती प्रदेशमा ४१ जना उम्मेदवार र १३ जना विजयी, गण्डकी प्रदेशमा ३३ जना उम्मेदवार र १५ जना विजयी भएका थिए ।
यस्तै पत्रकारिताबाट राजनीतिमा लागेकामध्ये लुम्बिनी प्रदेशमा ३७ जना उम्मेदवार र १५ जना विजयी, कर्णाली प्रदेशमा २४ उम्मेदवार, १२ जना विजयी र सुदूरपश्चिम प्रदेशमा २० जना उम्मेदवार र १० जना विजयी भएका थिए ।
निर्वाचनमा उम्मेदवार र विजयी भएका सदस्यलाई नेपाल पत्रकार महासङ्घको विधान, २०६० ९पाचौँ संशोधन, २०७५० को दफा ३२ को अनुशासन र कारबाही एवं दफा ३३ को आचारसंहितसम्बन्धी व्यवस्थाबमोजिम कारवाही प्रक्रिया अघि बढाइएको हो ।
महासङ्घका अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा गत वैशाख ८ गते भएको केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक (भर्चुअल) ले निर्वाचनमा उम्मेदवार बन्न चाहने सदस्यले महासङ्घको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर उम्मेदवारी दिन आग्रह गर्न गरेको निर्णय वैशाख १२ गते विज्ञप्ति जारी सार्वजनिक भएको थियो ।
विधानको दफा ७ को सदस्यता समाप्तिमा दफा ३२ को घ बमोजिम विधान प्रतिकूल कार्य गरेको भन्ने ठहर भएमा भन्ने व्यवस्था पनि गरेको छ ।निर्वाचनमा स्वतन्त्र र तटस्थ भूमिका निर्वाह गर्न तथा पत्रकार आचारसंहिताको पालना गर्न सदस्यलाई आग्रह गर्दै आएको महासङ्घको गत जेठ १५ गते काठमाडौँमा उपलब्ध पदाधिकारी र सदस्यको बैठकले महासङ्घमा सदस्य रहेर उम्मेदवारी दिएका तथा विजयी भएकालाई जिम्मेवारी र सदस्यताबाट हटाउने प्रक्रियाका सम्बन्धमा निर्णय गरेको थियो ।