मधेस प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।
प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत गत जेठ २२ गते बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
आज बसेको प्रदेशसभाको बैठकमा सरकारको सो नीति तथा कार्यक्रममाथिको छलफल भाग लिँदै प्रदेशसभाका सदस्यले सरकारको नीति कार्यक्रम स्वागतयोग्य रहेकाले सोहीअनुरुपको बजेट बनाउन सुझाव दिएका छन् । बैठकमा प्रदेशसभा सदस्य परमेश्वर साहले मधेस सरकारले ल्याएको नीति तथा कार्यक्रममा समेटिएका कुरा सकारात्मक रहेको भन्दै त्यसको कार्यान्वयनमा शङ्का रहेको टिप्पणी गरे।
सुरुदेखि नै एउटै विषयलाई नीति तथा कार्यक्रममा राखिँदै आए पनि काम केही नभएको गुनासो गर्दै उनले दूधमती महेन्द्रनगर करिडोरलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गरिनेछ भनेर सुरुदेखि नै सबै नीति तथा कार्यक्रममा राखिँदै आएको भए पनि त्यो कार्य हुन नसकेको गुनासो गरे ।
प्रदेशसभा सदस्य दिलीपकुमार साहले प्रदेश सरकारले ल्याएको नीति कार्यक्रममा राखिएको विषय स्वागतयोग्य रहेको भएको उल्लेख गर्दै सिरहाको पर्यटकीयस्थललाई नीति तथा कार्यक्रम नसमेटिएकाले त्यसलाई पनि समेटिनुपर्ने बताए । उनले नीति तथा कार्यक्रमलाई टेकेर बजेट विनियोजन गर्न आग्रहसमेत गरे ।