जनता समाजवादी पार्टी (जसपा) पनि मन्त्री हेरफेरको तयारीमा जुटेको छ । नेकपा (एकीकृत समाजवादी)ले एकाएक पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिएपछि जसपामा पनि मन्त्री फेरबदलको लागि दवाव परेको बताइन्छ । अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्री छान्न आन्तरिक तयारी सुरु गरिसकेको जसपाका एक नेताले जानकारी दिए ।
पार्टीको तर्फबाट सरकारमा सहभागी भएका चार मन्त्रीमध्ये तीनलाई फिर्ता बोलाउने तयारी भएको जसपा निकट स्रोतले बतायो । जसपाबाट हाल राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्रराय यादव र रामसहाय प्रसाद यादव मन्त्री छन्। सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेका महेन्द्रराय यादवबाहेकका मन्त्रीलाई फिर्ता बोलाएर प्रदीप यादव, प्रमोद साह, इस्तियाक राईलाई सरकारमा पठाउने तयारी भइरहेको बताइन्छ ।
दलहरुको मन्त्री फेरबदलको तयारीलाई आगामी संघीय निर्वाचन लक्षित रणनीतिको रुपमा हेरिएको छ । यद्दपी नेपाली काँग्रेस र माओवादी केन्द्रले भने हालका मन्त्रीलाई नै संघीय निर्वाचनसम्म कायमै राखिने बताउँदै आएका छन् ।