सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको समीक्षा गर्नका लागि सातवटै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरुलाई खटाएको छ ।
शनिबार (आज) बसेको पार्टी सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भीर ढंगले समीक्षा गर्न सही सूचनाको आवश्यक्ता रहेको निष्कर्ष निकाल्दै त्यसको संकलनका लागि सबै प्रदेशमा १/१ जना सचिवालयका सदस्यहरुलाई खटाउने निर्णय गरेको हो ।
५ दिनभित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना संकलन गरिसक्ने गरी प्रदेश १ मा जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्विनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा वेदुराम भुसाललाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।
बैठकमा गठबन्धनभित्र पनि स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको विषयमा गम्भीर ढंगले छलफल गरिएको उनले बताए ।
बैठकमा नेताहरुले गठबन्धनमा आवद्ध अन्य दलहरुले आफ्नो पार्टीलाई निर्वाचनका बेला अपमानजनक व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।