पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनमा इमानदारिता नभएको बताएका छन् ।
जिल्लाको चुनावी समीक्षा गर्न गोरखा पुगेका उनले पत्रकारसँग कुराकानी गर्दै निर्वाचनमा पराजयको मुख्य कारण पार्टीको आन्तरिक कारण भए पनि अर्को कारण गठबन्धन नै भएको बताएका हुन् ।
सत्ता गठबन्धनमा इमानदारिता नभएका कारण निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको उनले बताए ।
डा. भट्टराईले गठबन्धनको धर्मानुसार एकपटक निर्णय गरेपछि त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा त्यसो हुन नसक्दा समस्या आएको बताए । गठबन्धनका दलको लोकतान्त्रिक मूल्य, मान्यता र नैतिक आचारणविपरीतको कार्यले गठबन्धन गरेर पनि पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेको आरोप लगाए ।