बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।
बैठकमा प्रदेशसभाका २० जना सदस्यले नीति तथा कार्यक्रममाथि आआफ्नो धारणा व्यक्त गरे । बैठकमा सत्तारुढ गठबन्धनका सात, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का आठ, विवेकशील साझा पार्टीका दुई, राप्रपाका दुई र नेमकिपाका एक जना प्रदेशसभा सदस्यले आफ्नो धारणा राखे ।
बैठकमा सत्तारुढ दल नेकपा (एकीकृत समाजावादी), नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका सांसदले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताए ।
उनिहरुले विगतमा चार वर्षसम्म सरकारको नेतृत्व गर्ने दलले ल्याउन नसकेको योजना नीति तथा कार्यक्रममा समावेश गरेर सरकारले जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्न सफल भएको बताए ।
यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, केशवराज पाण्डे, अरुण नेपाल लगायतले सरकारको नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्दै सरकार चुनावी एजेण्डा बाँड्न सक्रिय रहेको बताए ।प्रदेशसभाको अर्को बैठक भोलि विहीबार बिहान ८ बजे बस्नेछ ।