सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरीमा तोकिए पनि प्रदेश सरकारकै लापरबाहीका कारण हालसम्म कार्यान्वयन नभएको प्रदेश सदस्यले आरोप लगाएका छन्।
नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा सदनमा पेस गरिएको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी अधिकांश प्रदेशसभा सदस्यहरुले गोदावरी राजधानी बनाउने योजना प्रदेश सरकारले नै तुहाएको आरोप लगाएका हुन् ।
‘दुई तिहाइ प्रदेशसभा सदस्यको निर्णयबाट गोदावरीमा राजधानी निर्माण गर्ने प्रस्ताव पारित भएको हो,’ प्रदेशसभा सदस्य भरत खड्काले भने, ‘तर सरकारका मन्त्रीको लापर्वाहीका कारण ४ बर्ष सम्म सो निर्णय कार्यान्वयन हुन सकेन, यो सरकारको कमजोरी हो, आफैले गरेको निर्णय प्रदेश सरकार आफैंले तुहाएको छ ।’
खड्का सत्तारुढ दल नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा सदस्य बलदेव रेग्मीले राजधानी गोदावरीमा राख्ने निर्णय कार्यान्वयन गर्न कसले रोक्यो ? भन्दै प्रश्न गरेका छन् ।
दुई तिहाई मतले पारित भएको योजनामा हालसम्म बजेटसमेत नपारिएको भन्दै उनले सरकाको लापर्वाहीका कारण राजधानी बन्न नसकेको आरोप लगाए । यसैगरी प्रदेश सभा सदस्य मेहेशदत्त जोशीले राजधानीमा बजेट नछुट्याइनुको कारण माग गरेका छन् ।