कोभिड महामारीका कारण चीनबाट फर्केका २०१५/२०१६ ब्याचका एमबिबिएस अध्ययनरत विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
इन्टर्नसिप (प्रयोगात्मक शिक्षा) व्यवस्थापन कार्यान्वयन गर्न ढिलाइ भएको भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका १० जना विद्यार्थीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई अहिले मालिगाउँ प्रहरी विटमा राखिएको छ।
कोभिड महामारीका कारण चीनबाट फर्केका २०१५/२०१६ ब्याचका एमबिबिएस अध्ययनरत विद्यार्थीले इन्टर्नसिपको माग गर्दै लगातर शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन्।
उनीहरुले यसअघि नेपाल मेडिकल काउन्सिल, माइतीघर मण्डलामा भोक हड्ताल र शान्तिपूर्ण धर्ना दिएका थिए। तर, अझै पनि सरकारले उनीहरुको समाधान गर्न सकेको छैन।
गत १४ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसिप गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो। तर, निर्णय भएको महिनौँ बितिसक्दा पनि चिकित्सा शिक्षा आयोगको लापरवाही र ढिलासुस्तीले गर्दा उक्त निर्णय कार्यान्वयन गर्न नभएको भन्दै विद्यार्थी आन्दोलन गर्दै आएका छन्।