काठमाडौं। काठमाडौं महानगरपालिकामा नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षसहित सदस्यले सपथ लिएका छन्।
प्रमुख बालेनलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सपथग्रहण गराएका हुन्।
सुरूमा नेपालीमै सपथ लिएका साहले पछि फेरि नेपाल भाषामा सपथ लिए।
श्रीमती दायाँ, उपमयेर बायाँ
सपथग्रहण समारोहमा मेयर बालेन औपचारिक पोशाकमा ठाँटिएका थिए। उनले दौरासुरुवालमा कालो टोपी र आफ्नो ट्रेडमार्कका रुपमा रहेको कालोचश्मा पहिरिएका थिए।
बालेनले सपथग्रहण समारोहमा आफ्नी पत्नी सविता काफ्लेलाई दायाँ र उपमेयर डंगोललाई बायाँ राखेका थिए।
लगाएनन् माला
साहले आज सपथग्रहण समारोहमा माला लगाउन अस्वीकार गरे। साह मेयर निर्वाचित भएको भोलिपल्ट ओखरपौवास्थित डम्पिङ साइटमा पुगेका थिए। त्यहाँ उनले काठमाडौंको फोहोरको समस्या समाधान नगरेसम्म माला र खादा नलगाउने तथा कुनै उत्सव नमनाउने बाचा गरेका थिए।
मुख्य निर्वाचन अधिकृतले सबै जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गर्दै माला लगाइदिएका थिए। तर, बालेनले लगाएनन्।
अन्यको सपथ
आफूले सथप लिएपछि बालेनले उपप्रमुख डंगोल, वडाध्यक्ष र सदस्यलाई सपथग्रहण गराए। डंगोलले भने नेवारीमा मात्रै सपथ लिइन्।
मेयर साहले सपथको व्यहोरा नेपालीमा पढेका थिए भने त्यसलाई सुनिताले नेपालभाषामा उल्था गरेर वाचन गरेकी थिइन्।
कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक काठमाडौं महानगरपालिकाका १६० जनप्रतिनिधिले शपथ लिएका हुन्।
काठमाडौंका ३२ वडामध्ये १९ मा नेपाली कांग्रेस, १२ वडामा एमालेको उम्मेदवार र एक वडामा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका थिए।