पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको सम्पर्कविहीन जहाज खोजीका लागि सोमबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी रामकुमार दानीले आज बिहान ५ बजेदेखि जहाज खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको बताए।
आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन छ।
आइतबार साँझसम्म सुरक्षाकर्मी र स्थानीयले जहाजको खोजी गरे पनि फेला पारेका थिएनन्।तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।
जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए।