सुदूरपश्चिम प्रदेशको राष्ट्रिय गौरवको आयोजना रहेको गेटा मेडिकल कलेज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत सञ्चालनमा ल्याइने भएको छ । भौतिक संरचना अन्तिम चरणमा रहेको सो मेडिकल कलेजको प्रारुपबारे टुङ्गो लाग्दा सञ्चालनमा अन्यौलता रहेको थियो ।
आइतबार संघिय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम विश्वविद्यालय मातहत रहने गरी मेडिकल कलेज सञ्चालनमा ल्याइने बताएसँगै अब कलेज सो मन्त्रालय मातहत रहने भएको हो ।
‘सेती र महाकाली प्रादेशिक अस्पतालको समन्वयमा सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गरिने छ’ मन्त्री शर्माले भने । स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका विज्ञहरुले भने गेटालाई प्रतिष्ठान बनाई अघि बढाउनुपर्ने भन्दै माग गर्दै आएका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लगानीमा भौतिक संरचना बनेकाले सो मन्त्रालयले आफनै मातहतमा रहनुपर्ने दबाब दिँदै आएको थियो । स्वास्थय तथा जनसंख्या मन्त्रालयले भने गेटा आफनो मातहत हुनुपर्ने दबाब दिँदै आएको थियो ।गेटालाई मेडिकल कलेज बनाउने वा प्रतिष्ठान बनाउने भन्ने विषयको टुङ्गो नलाग्दा लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन ।