विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ ।उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन् ।
‘हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ भने अरु एक सयभन्दा बढीमा शङ्कास्पद लक्षण देखिएको छ’ डब्लुएचओका अधिकारीको भनाइ छ ।
मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् । यो सङ्क्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरीरमा बिमिरा देखिने, शरीर दुख्ने, थकान महसुस हुने लक्षण देखिन्छ ।
ज्वरो आउनु, सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनुजस्ता यस रोगमा लक्षण देखिन्छ ।
यस्तै टाउको, ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थि बढ्नु जस्ता लक्षण पनि देखिन्छ । लक्षण १४ देखि २८ दिनसम्म रहन्छ र सामान्यता आफैँ हराउने गर्दछ ।
बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखा पर्ने जनाइएको छ ।