बीरगंजलाई स्वच्छ सफा र हराभरा बनाउने नारा लामो समयदेखि चल्दै आए पनि त्यसलाई वास्तविक स्वरूप दिन महानगरको नयाँ नेतृत्व यतिखेर तातेको छ।
वीरगन्ज महानगरका नवनिर्वाचित मेयर राजेशमान सिंह र उपमेयर ईम्तियाज आलमसहितको टोलीले शनिबार वीरगन्जको मेन रोडको सडक र नालाको सरसफाइको अनुगमन मात्रै होइन झाडु लिएर आफै सफा गर्न उत्रिए।
मेयर सिंह र उपमेयर आलमले महानगरपालिका सरसफाइ शाखाका कर्मचारी, नगर प्रहरीहरूलाई सँगै लिएर विभिन्न स्थानको सडक र नाला सरसफाइ गराए। दुवै जना आफैले पनि सडकमा झाडु लगाएपछि कर्मचारी र अन्य सहभागीले सरसफाईमा साथ दिए।
वीरगन्जको बिर्ताचोक, मकालु चोक, कैलाश होटेल चोक, घडीअर्वा, माइस्थान हुँदै घण्टाघर सम्म मेन रोडको फोहोर अनुगमन टोलीले हटाएको थियो। नगर प्रमुख तथा उपप्रमुखसहितको टोलीले स्थानीय पसलेहरूलाई सडकमा फोहोर नफाल्न अनुरोध गर्नुका साथै तोकिएको समयमा मात्रै घर भित्रको फोहोर बाहिर महानगरपालिकाको ट्याक्टरमा जम्मा गर्न आग्रह गरेको थियो।