सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले व्यवसायमार्फत प्रदेश विकासमा सहयोग पुग्ने गरेको बताएका छन् । बिहीबार धनगढीमा रेमण्ड शपको उद्घाटन गर्दै उनले व्यापार, व्यवसायले विकासमा सहयोग पुग्ने गरेको बताएका हुन ।
‘व्यापार, व्यवसाय विकासको एक पक्ष पनि हो । यसले रोजगारी सृजना गर्दछ । र, हामीले गर्न खोजेको विकासमा सहयोग पनि पुग्ने गर्दछ’, उनले भने ।
बढीभन्दा बढी रोजगारी सृजनाका लागि प्रदेशमा बढीभन्दा बढी व्यवसाय, उद्योग सञ्चालन हुन आवश्यक रहेको मुख्यमन्त्री भट्टको भनाइ थियो । उनले व्यवसायबाट कर र रोजगारी सृजनाको रुपमा लाभ हुने गरेको उल्लेख गरे ।
प्रदेशमा व्यापार व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो । मान्छेले लगनशील भएर व्यवसाय गरेमा सफलता अवश्य प्राप्त हुने गरेको मुख्यमन्त्री भट्टले बताए । ‘हामीले एकैचोटी ठूलो हैन, सानैबाट व्यवसाय सुरु गर्नु पर्दछ’, उनले भने । ‘दृढताका साथ अगाडि बढियो भने सफलता अवश्य प्राप्त हुन्छ ।’
उनले समय अनुसार मान्छे फेशनमा चल्न थालेकाले उनीहरुको चाहनालाई रेमण्ड शपले पूरा गर्ने उल्लेख गरे । धनगढीका चर्चित मोडर्न तयारी पोशाकका सञ्चालक प्रकाश दर्जीले सवा करोड रुपैयाँमा रेमण्ड शप सञ्चालनमा ल्याएका हुन । शपमा भारतको रेमण्ड कम्पनीद्वारा उत्पादित रेमण्ड ब्राण्डका कपडा राखिएको सञ्चालक दर्जीले बताए ।
रेमण्ड विश्वमा चर्चित ब्राण्ड रहेको उल्लेख गर्दै उनले शपमा आइएसओ सर्टिफाइड रेमण्ड ब्राण्डको कपडामात्रै राखिएको छ । रेमण्ड विश्वमै लोकप्रिय भारतको कम्पनी हो । सो उद्योगले उत्पादन गर्ने कपडा प्रतिमिटर चार सय रुपैयाँ भारुदेखि लिएर तीन लाख भारुसम्म पर्ने गरेको जनाइएको छ । धनगढीमा प्रतिमिटर एक हजार छ/सात सयदेखि १०÷११ हजार रुपैयाँ रेमण्डको कपडा राखिएको दर्जीले बताए ।