पालिका चुनाव सम्पन्न भएको १२ दिन पुगे पनि अझै पाँच वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ ।
बाजुराको बूढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अग्रस्थानमा छन् ।
उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका बलदेव चौधरी सात सय ४४ मतसहित अग्रस्थानमा छन् ।रौतहटको गरुडा नगरपालिकको मेयरमा एमालेका कन्थमनी प्रसाद कलवार तीन हजार आठ सय सात मतका साथ अगाडि छन् ।
उपमेयरमा कांग्रेसकी पुनमकुमारी चौधरीले पाँच हजार एक सय ४८ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी नेपालकी विन्दुकुमारी देवीले तीन हजार एक सय ६४ मत प्राप्त गरेकी छन् । रौतहटकै फतुवा विजयपुर नगरपालिकाको मेयरमा कांग्रेसका गोपाल राय यादवले चार हजार एक सय १७ मत प्राप्त गरी अग्रता लिइरहेका छन् ।
सार्वजनिक भएको मतपरिणामअनुसार नेपाली कांग्रेस एक सय ३८ नगरपालिका र एक सय ८८ अध्यक्षसहित तीन सय २७ स्थानमा विजयी भएको छ । एमाले ८१ नगरपालिका र एक सय २३ गाउँपालिकासहित दुई सय चार स्थानमा विजयी भएको छ । माओवादी केन्द्र २५ नगरपालिका र ९६ गाउँपालिका गरी एक सय २१ पालिकामा विजयी भएको छ ।