गौरीशङ्कर गाउँपालिका–३ झ्याकुका एक युवकको शङ्कास्पद मृत्यु भएको छ।
नेपाली कांग्रेस वडाध्यक्षमा उम्मेदवारी दिएका दिलबहादुर बस्नेतका छोरा २४ वर्षीय यानबहादुरको शङ्कास्पद मृत्यु भएको हो।
मङ्गलबार बेलुकादेखि सम्पर्कविहीन भएका यानबहादुर घर नजिकै आज बिहान मृतावस्थामा फेला परेको स्थानीयवासी जिपछिरिङ शेर्पाले बताए।
घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ। मृतक बस्नेतका बुबा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका थिए।
झ्याकुस्थित मानेडाँडा माविमा कार्यरत यानबहादुर काम सकेर साँझ ६ः३० बजे घरबाट निस्किएका र अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय तथा आफन्तले खोजीकार्य जारी राखेका थिए।
मङ्गलबारदेखि बेपत्ता भएका यानबहादुर आज बिहान झ्याकुस्थित सर्सेपु विद्यालय नजिकैको जङ्गलमा मृत फेला परेको प्रहरीले जनाएको छ।