छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा चावहिलको सेन्ट लरेन्स कलेजका एकजना शिक्षक पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा कलेजका शिक्षक जनार्दन अधिकारी रहेका छन्।
उनीविरूद्ध मंगलबार तीन जना विद्यार्थीले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी वृत्त गौशलाले जनाएको छ।
अधिकारीले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै विद्यार्थीहरुले मंगलबार कलेज र शिक्षकविरुद्ध नारावाजी गर्दै महानगरीय प्रहरी वित्त गौशालामा प्रदर्शन गरेका थिए।
ती शिक्षकले ‘आफूले भनेअनुसार गरे सहयोग गरिदिने भनेर गलत मनसायले भनेको’ विद्यार्थीहरुको आरोप छ।
पीडित विद्यार्थीको कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीका अनुसार ती शिक्षकले पीडित छात्रालाई आफ्नो ‘सेक्स पार्टनर’ बन्न बारम्बार प्रस्ताव राख्दै आएका थिए।