शुक्लाफाँटा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार रणबहादुर महरा प्रमुखमा निर्वाचित भएका छन्।
आज सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पराजित गर्दै महरा नगरप्रमुखमा निर्वाचित भएका हुन्।
महराले छ हजार ७७३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भट्टले छ हजार २६४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नगरप्रमुखमा नेकपा माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार नवराज ऐरले पाँच हजार २२५ मत प्राप्त गरे। शुक्लाफाँटाको नगर उपप्रमुखका नेपाली कांग्रेसका कल्पना जोशी पन्त निर्वाचित भइन्। उनले छ हजार ५१९ मत प्राप्त गरे।
त्यसैगरी उप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का माधव पन्तले पाँच हजार ३६० र एमालेका उम्मेदवार मोनिका भण्डारी भट्टले पाँच हजार २३६ मत प्राप्त गरे।
अघिल्लो निर्वाचनमा शुक्लाफाँटामा नगरप्रमुखमा नेपाली कांग्रेसका दिलबहादुर ऐर र उपप्रमुखमा एमालेका तुलसी हमाल निर्वाचित भएका थिए।
९ पालिका रहेको कञ्चनपुरमा हालसम्म तीन पालिकामा नेपाली कांग्रेस, तीनमा एमाले र एउटा पालिकामा माओवादी केन्द्र विजयी भएको छ।
यहाँको भीमदत्त नगरपालिका र पुर्नवास नगरपालिकामा मतगणना जारी रहदा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्।