प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरे। तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी उनी तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुगेकी थिइन्।
उपमन्त्री जियाले नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीहरुको मानवअधिकार र उनीहरुको सुरक्षाका बारेमा प्रधानमन्त्री देउवासँग चासो राखेको बताइएको छ। उपमन्त्री जिया शनिबार मध्यान्ह जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरको निरीक्षण भ्रमणमा गएकी थिइन्।
जियाले प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमणको निम्तोसमेत दिएकी जनाएको छ।
यस्तै, परराष्ट्रमन्त्री डा नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री जिया नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ।
परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय÷बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
यो वर्ष नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष चलिरहेको छ। यस अवसरमा नेपाल भ्रमणका लागि अमेरिकाबाट उच्च अधिकारीहरु आइरहेका छन्।