तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिएका छन्।
उनले हालसम्म १५ हजार ४०५ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत ल्याएका छन्।
उपप्रमुखमा पनि एमालेको अग्रता छ। एमालेका तर्फबाट उपप्रमुखका उम्मेदवार स्यानी चौधरीले १४ हजार ६१५ मत प्राप्त गरेकी छन् भने गठबन्धनको तर्फका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानाले १० हजार ८९२ मत प्राप्त गरेका छन्।
अहिलेसम्म तुलसीपुरका नौवटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ। अहिले तुलसीपुर १०, ११ र १२ को मतगणना भइरहेको छ।
तुलसीपुरमा यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजय हासिल गरेको थियो। तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ जनाले मतदान गरेका थिए।