काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको एउटा वडाको तीन हजार १०० मतगणना गर्न करिब ४० घण्टा लाग्ने भएको छ।
वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन सकिएपछि त्यसै रात २ बजेदेखि नगरको १ नं वडाको मतगणना सुरु भएको थियो।
शुक्रबार रातिदेखि गणना सुरु भएको १ नं वडाको मतगणना अझै सकिएको छैन। निर्वाचन अधिकृत शारदा राउतका अनुसार हालसम्म वडा नं १ को दुई हजार ४२४ मतगणना भएको छ। यस वडाको मतगणना सुरु भएको ३२ घण्टा पूरा भइसकेको छ।
वडा नं १ मा तीन हजार १०० मत खसेको छ। बाँकी ७०० मतगणना गर्न आज बेलुकीसम्म लाग्नेछ । निर्वाचन अधिकृतको कार्यालयमा स्थान अभावका कारण धेरै मतगणना गर्न सकिने अवस्था छैन। हाल ९ नं वडाको पनि मतगणना भइरहेको छ। यहाँ दुई वटा वडाको मात्र मतगणना गर्न सकिने हल रहेको छ।
आज दिउँसो अर्को स्थानमा मतगणनाका लागि थप गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ। वडा नं ९ को भने करिब एक हजार ७०० मतगणना भएको छ।
नगरको वडा नं ९ मा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवारले अग्रता लिएको जनाइएको छ। वडा नं १ मा भने अहिले थोरै मतान्तरले नेकपा एमालेले अग्रता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतगणना भइरहेको दुवै वडाको वडाध्यक्ष पदमा भने एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन्। नगरपालिकामा नौ वटा वडा छन् । नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन्। जसमध्ये २६ हजार ९२८ मत खसेको थियो। यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा नेकपा एमाले विजयी भएको थियो। सो निर्वाचनमा एमालेले छ वटा वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो।
एमालेबाट विजयी नगर प्रमुख कृष्णहरि थापा हाल नेकपा एकीकृत समाजवादी पार्टीमा छन्। उनी यो निर्वाचनमा पनि समाजवादीबाट नगर प्रमुख पदमा प्रतिस्पर्धा गरिरहेका छन् ।
मतगणनाको प्रारम्भिक परिणाम अनुसार उनी तेस्रो स्थानमा छन्।