आगलागीबाट ध्वस्त भएको कैलालीको कैलारी गाउँपालिका ७ स्थित बिपतपुर मुक्तकमैया बस्ती निर्माण सुदूरपश्चिम सरकारले गरिदिने भएको छ ।
चालु आर्थिक वर्षभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरि आउँदो आर्थिक वर्ष २०७९/०८० देखि बस्ती निर्माण गरिने भएको हो ।सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिवार वस्तीको स्थलगत अनुगमन गर्दै बस्ती निर्माण गरिने प्रतिवद्धता जनाएका छन् ।
प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तरगत अग्नि पीडित मुक्तकमैयाका बस्ती निर्माण गरिने प्रतिवद्धता जनाएका हुन् ।प्रदेश सरकारले तत्काल पूर्ण क्षति ब्यहोरिरहेका सो बस्तीका प्रति मुक्तकमैयालाई ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ ।
वैशाख ११ गते दिउँसो खेतमा भएको गहुँको नालमा लगाइएको आगो बस्तीमा सल्किएपछि सो बस्ती खरानीमा परिणत भएको हो ।७१ घरधुरी रहेको बस्तीका स्थानीयको घरसँगै खाद्यन्न, गरगहना, लत्ताकपडा, मेसिनरी औजार, पशुचौपाया जलेका थिए ।
आगलागीले बस्तीका २७ घर पूर्णरुपमा जलेका छन् । १२ घर आंशिक रुपमा जलेका छन्, भने ३२ घरमा सामान्य क्षति भएको थियो ।