शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई जनाको कलेजो प्रत्यारोपण सफल भएको छ । गत आइतबार र सोमबार गरी ती दुई जनाको सफल कलेजो प्रत्यारोपण गरिएको हो ।यसअघि नेपालमै पहिलो पटक २०७२ मङ्सिर ६ गते केन्द्रमा कलेजो प्रत्यारोपण गरिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नेपालमै सहज रूपमा कलेजो प्रत्यारोपण नियमित हुनु सकारात्मक पक्ष रहेको बताए । कलेजो प्रत्यारोपणमा लाग्दै आएको शुल्क कम गर्न प्रत्यारोपण केन्द्रबाट प्रस्ताव आएमा त्यसलाई छलफल गरेर अघि बढाइने बताए ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आइतबार र सोमबार नियमित रूपमा दुई जनाको कलेजो प्रत्यारोपण सम्पन्न भएको जानकारी दिए । उनले योसहित केन्द्रमा आठ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भइसकेको जानकारी दिँदै प्रत्यारोपण गरिएका सबै सफल भएको बताए ।
डा. श्रेष्ठले केन्द्रमा कलेजो प्रत्यारोपण गर्दा २० लाख खर्च हुने गरेको जानकारी दिँदै मिर्गौला प्रत्यारोपण निःशुल्क गरिएजस्तै कलेजो प्रत्यारोपण पनि निःशुल्क गरिनुपर्ने बताए । हालसम्म कलेजो प्रत्यारोपण गरिएकाहरूमा सात जना स्वस्थ व्यक्तिबाट र एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट कलेजो दान भएको थियो ।
उक्त शल्यक्रियामा नेपाली टोलीको नेतृत्व प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठले गर्नुभएको थियो भने भारतको दिल्लीस्थित म्याक्स हस्पिटलका टोलीको नेतृत्व डा. शलिन अग्रवालले गरेका थिए । यस्तै डा.अनिषा तिवारी, डा.छेतेन लामालगायतका टोली रहेको थियो ।
डा। श्रेष्ठका अनुसार कीर्तिपुरका ४६ वर्षीय इच्छाकुमार महर्जनलाई उनकी श्रीमती ४३ वर्षीया ज्ञानी शोभा महर्जनले कलेजो दान दिएकी थिईन् । यस्तै झापाका ५१ वर्षीय रामचन्द्र वलीलाई उनकी १९ वर्षीया छोरी सुमित्रा वलीले कलेजो दान दिदिएकी थिईन् । निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आगामी महिनादेखि हरेक महिना दुई जनाको कलेजो प्रत्यारोपण नियमित गर्ने जानकारी दिए ।