स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरूले उल्लेख्य भूमिका निर्वाह गरेको बताएका छन् ।
२४औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उनले स्वास्थ्यकर्मीहरूले आफ्नो ज्यानको परवाह नगरी कोरोना नियन्त्रणमा खटेकोमा प्रशंसा गरे ।
उनले अझै पनि स्वास्थ्यमा जनशक्ति अभाव रहेको भन्दै जनशक्ति परिपूर्ति गरिने बताए । मन्त्री खतिवडाले विगत तीन दशकमा नेपालको स्वास्थ्य सेवा प्रवाह वृद्धि भई नेपालीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताए ।
उनले नेपालको पहिलो राष्ट्रिय स्वास्थ्य नीति २०४८ ले स्वास्थ्य सेवालाई देशको कुनाकाप्चामा फैलाउने नीति लिएको भन्दै त्यसपछिका स्वास्थ्य नीतिले गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिइएको बताए ।
मुख्य सचिव शङ्करदास बैरागीले स्वास्थ्यकर्मीहरूको समायोजनलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले कोरोना नियन्त्रणमा स्वास्थ्यकर्मीहरूको भूमिका ठूलो रहेको बताए ।