सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खोप लगाउन योग्य सबै नेपालीलाई कोरोना विरूद्धको खोप उपलब्ध गराउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले खोप पाउन योग्य बच्चा देखी बृद्ध सम्म सबैलाई खोप लगाउने सरकारको नीति रहेको बताएका हुन् ।
मन्त्री कार्कीले विश्वासको मत लिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जनाएका प्रतिवद्धता अनुसार सरकारले कोरोना विरूद्धको खोप सबै नेपालीलाई अधिकारको उपलब्ध हुनेगरी काम गरिरहेको समेत बताए । यसैबीच सोमबार नै बसेको मन्त्रिपरिषद् बैठकले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत दिने निर्णय गरेको छ ।
यस्तै बैठकले वर्षका कारण धानबालीमा पुगेको क्षतीको राहत दिने सम्वन्धी कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यस अगाडि कार्तिक ११ गतेको मन्त्रिपरिषद् बैठकले बाढी तथा डुवानका कारण धानबालीमा पुगेको क्षतीको अध्ययन गरी अधिकतम ६५ प्रतिशत सम्म राहत दिने निर्णय गरी कार्यविधि तयार गर्न कार्यदल गठन गरेको थियो ।
यसैगरी बैठकले कुश्मा ४०० केभि सवस्टेशन र जुम्ला सवस्टेशनको निर्माणका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने, कीर्तिपूर नगरपालिका र चीनको हुवे प्रान्तको हुङ्गेङ शहर बीच भगिनी सम्वन्ध कायम गर्न स्वीकृति दिने तथा जेनेभामा सञ्चालन हुने विश्वस्वास्थ्य संगठनको विशेष विश्व स्वास्थ्य सम्मेलनमा सहभागि हुन स्वीकृति दिने लगायतका निर्णयहरू गरेको छ ।