परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज टेलिफोन संवाद भएको छ।
करिब एक घण्टा लामो कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।
सो अवसरमा दुई देशका विदेशमन्त्रीबीच आपसी हित र दुईपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको छ।कुराकानीका क्रममा कोभिडविरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो। तातोपानी र रसुवागढी नाकालाई थप सहज बनाउने विषयमासमेत कुराकानी भएको मन्त्रालयले जनाएको छ।
साथै दुई विदेशमन्त्रबीच साझा स्वार्थका सम्बन्धमा नजिकबाट समान धारणा बनाएर दुई देशबीचको परम्परागत लामो सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुईपक्षीय समन्वय र सहकार्यलाई महत्व दिनेबारे कुराकानी भएको छ। सो क्रममा विदेशमन्त्री यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तोसमेत दिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।