हिन्दीमा एउटा उखान छ – ‘बगलमे छोरा, शहरमे ढिन्डोरा।’ नेपाल सरकारले पनि अहिले ठिक यस्तै व्यवहार देखाइरहेको छ। देशभरमा दैनिक हजारौ जना कोरोना संक्रमितहरु देखिइरहेका छन्। महामारीले बिकराल रुप लिर्दै गर्दा बिरामीहरुले अस्पतालमा बेड नपाएर सडकमा छट्पटाउदै मृत्यूवरण गरिरहेका छन्।
यस्तो डरलाग्दो अवस्था आइसक्दा पनि सरकार भने उदासिन नै देखिन्छ। हुन त सरकारले विभिन्न प्रयासहरु गरिरहेको जस्तो देखिन्छ तर वास्तवमा यो महामारीको बेलामा सहयोग गर्न चाहने निजी अस्पतालहरुलाई बेवास्ता गरिरहेको छ।
यसको एउटा ज्वलन्त उदाहरण हो, काठमाडौ डिल्लीबजारस्थित काठमाडौं नेशनल मेडिकल कलेज। अस्पताल प्रशासनले आफ्नो अस्पताललाई कोभिड बिशेष अस्पताल बनाउन तयार रहेको बताइरहँदा पनि स्वास्थ्य मन्त्रालयले चरम बेवास्ता गरिरहेको छ। ‘जनताहरु अस्पतालमा बेड नपाएर मरिरहेका छन्, सरकार पनि अस्पताल खोजिरहेको छ,’ अस्पताल प्रशाासन प्रमुख दिलिप साह भन्छन् – ‘खै किन हो सरकारले हाम्रो प्रस्तावलाई अस्विकार गरिरहेको छ।’
प्रशासन प्रमुख साहले अस्पतालको ३ सय १५ वटा बेड नै कोरोना संक्रमित बिरामीको उपचारको लागि प्रयोग गर्न तयार रहेको बताए। ‘३५ जना चिकित्सक र ५० जनासम्म नर्सलगायतको मेडिकल टिम तयारी अवस्थामा छ,’ उनले भने – ‘कोभिड बिरामीको लागि ५ वटा अत्याधुनिकसहित ७ वटा भेन्टिलेटर तयार छ।’ महामारीको बेलामा निशुल्क जनता र सरकारको सहयोग गर्न चाहँदा पनि विभिन्न व्यक्तिहरुको व्यक्तिगत स्वार्थका कारण सम्भव हुन नसकेको प्रशासन प्रमुख साहले गुनासो गरे।
यसका लागि अस्पतालले स्वास्थ्य मन्त्रालयमा निवेदन बुझाइसकेको भए पनि स्वास्थ्य मन्त्रालयलगायत त्यहाँका कर्मचारी डा. गुणराज लोहनी र डा. समिर अधिकारीले कुनै चासो नदिएको साहले बताए। ‘आत्तिनुपर्दैन, अहिले केहि भएको छैन् बिर अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याएपछि बिचार गर्छौ भन्ने गैरजिम्मेवार अभिव्यीक्त पायौँ,’ प्रशासन प्रमुख साहले भने – ‘उपचार नपाएर जनताहरु मरिरहेका छन्, खै के विचार गर्नुपर्ने रहेछ?’
