राजविराज–  सप्तरीको राजविराजमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ । बुधबार साँझ बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले  कोरोनाको जोखिम बढेको भन्दै बिहीबार बिहान ५ बजेबाट लागु हुने गरी कर्फ्यु लगाएकाे हो । 
केही दिनअघि राजविराज– ६  वडाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनको परिवारका ५ जनासहित छिमेकीमा कोरोना संक्रमण पुष्टि भएपछि राजविराज नगरपालिकाको आग्रहमा कर्फ्यु लागु गरिएको हो । 
नगरपालिकाले सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, पसल, उद्योग तथा यातायात बन्द गर्ने जनाएको छ । 
स्वास्थ्य तथा अत्यावश्यक सेवा भने सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका स्वास्थ्य प्रमुख दुनियाँलाल यादवले बताए । 
अर्को सूचना नआउँदासम्म कर्फ्यु जारी रहने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए ।