काठमाडौँ, २३ माघ – नेपाल र भारतका उच्च सरकारी अधिकारीबीच नेपाल–भारत वाणिज्य सन्धिका विविध पक्षमा यही माघ २५ र २६ गते गहन छलफल हुँदैछ।
भारतसँगको व्यापारघाटा बढिरहेका बेला त्यसलाई घटाउने तथा समयानुकूल उक्त सन्धि परिमार्जन, संशोधन वा नयाँ शिराबाट गर्नेलगायत विषयमा बैठकमा विचारविमर्श हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैँजूले बताए।
“वाणिज्य सन्धिका प्राविधिक सहितका सबै पक्षका बारेमा छलफल गर्न पोखरामा हुन लागेको दोस्रो बैठकमा परिवर्तित सन्दर्भमा उक्त सन्धिका धारा/उपधारालाई सामयिक तुल्याउने प्रयास हुनेछ,” उनले भने, “नेपाल र भारतबीच २०४७ सालमा भएको वाणिज्य सन्धि परिमार्जनका निम्ति बैठकले सिफारिससमेत गर्नसक्नेछ।”
९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव सैँजूले गर्नेछन् भने ७ सदस्यीय भारतीय पक्षको नेतृत्व त्यहाँको वाणिज्य मन्त्रालयका सहसचिव भूपेन्द्र भल्लाले गर्नेछन्।
बैठकमा वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका साथै भन्सार र वाणिज्य विभागका अधिकारी सहभागी हुनेछन्। (रासस)