दिनेश ठकुल्ला/दिनेश बिष्ट, धनगढी, माघ २० – कैलाली उद्योग वाणिज्य संघले विगत एघार वर्षदेखि वार्षिक रुपमा सञ्चालन गर्दै आएको सुदूरपश्चिम महोत्सव सोमबारदेखि कैलालीको धनगढीमा सुरु हुँदैछ।
महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको यो महोत्सव प्रधानमन्त्री अनुपस्थित रहने जानकारी पाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।
माघ २० गते पार्टीको प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्न आउने र अर्कोदिन महोत्सव उद्घाटन गर्ने प्रधानमन्त्री ओलीको कार्यतालिका थियो। तर, विविध कारण देखाउँदै पार्टीको बैठक स्थगित भएपछि प्रधानमन्त्री महोत्सवमा पनि सहभागी नहुने भएका हुन्।
सरकारसँग एउटा मात्रै माग
यसअघि, संघले महोत्सवको उद्घाटन गर्न आउने प्रमुख अतिथिलाई व्यवसायीको तर्फबाट २१ बुँदे माग राख्दै २१ किलोको माला लगाउँदै आएको थियो। तर, यसपटक एक बुँदे माग मात्रै राखिने संघका पूर्वअध्यक्ष दिनेशराज भण्डारीले बताए।
सुदूरपश्चिम प्रदेशमै प्रदर्शनीस्थल नरहेकाले संघले प्रदेश सरकारसमक्ष नै एउटा सुविधासम्पन्न प्रदर्शनीस्थल निर्माणको माग अघि सारिने भण्डारीले बताए।
हरेक वर्ष किन आयोजना गरिन्छ महोत्सव?
‘दीगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ विगत ११ वर्षदेखि उद्योग वाणिज्य संघ कैलालीले धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ।
प्रत्येक वर्ष आयोजना हुने महोत्सवले सुदूरपश्चिमको औद्योगिकरण, व्यापार, कृषि, पर्यटन, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्याउँदै आएको छ।
त्यस्तै, प्रदेशको पर्यटकीय सम्भावना बोकेका धार्मिक, प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रको प्रचारप्रसार गर्ने र सुदूरपश्चिमको कला संस्कृतिको संरक्षण सम्बर्द्धन गर्ने महोत्वसको उद्देश्य छ।
‘समग्र प्रदेशको विकासका लागि महोत्सवले भूमिका खेल्ने अपेक्षा हामीले लिएका छौँ, आर्थिक विकास र समृद्धि हाम्रो मुल एजेण्डा हो,’ संघका अध्यक्ष कुँवरले भने।
दुई सय ५० वटा स्टल रहने महोत्सवमा महिला उद्यम र स्थानीय उत्पादनलाई विशेष प्राथमिकतामा राखिएको छ। विपदमा परेका संघका सदस्यहरुलाई केही स्टल निःशुल्क उपलब्ध गराइएको अध्यक्ष कुँवरले जानकारी गराए।
पाँच लाखले अवलोकन, १५ करोडको कारोबार
करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सुदूरपश्चिम महोत्सव अवधिभर करिव १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ।
धनगढीमा आयोजना हुने अन्य मेला महोत्सवले उल्लेख्य मात्रामा दर्शक पाउँदैनन्। तर, कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको यो महोत्सवमा भने दर्शकको उल्लेख्य सहभागिता हुँदै आएको छ।
‘गत वर्षहरुमा शनिबार र बिदाका दिन महोत्सवस्थलमा ठाउँ अभाव हुँदा दर्शकले फर्किनुपरेको थियो,’ संघका कार्यकारी निर्देशक ज्योती भट्टले भने, ‘यसवर्ष पनि पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरेका छौँ।’
महोत्सवमा स्थानीय उत्पादन, घरेलु उद्योग र प्रविधिसम्बन्धी प्रदर्शनी, स्थानीय प्रतिभाको पहिचान तथा प्रवर्द्धन, रमाइलो मेला तथा बाल उद्यान कृषि प्रदर्शनी लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ।
संघले विगत ११ वर्षदेखि उक्त महोत्सव पुष २२ गतेदेखि गर्दै आएको थियो। तर, यसपटक संघको चुनावका कारण ढिलाई हुँदा सोमबारदेखि सुरु हुन लागेको महोत्सव फागुन २ गते समापन हुने छ।