काठमाडौं । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाबारे स्पष्टीकरण दिएका छन्।
धुर्मुस–सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाबारे कलाकार धुर्मुसले स्पष्टीकरण दिएका छन्।
उनले राज्यका लागि एउटा गर्विलो संरचना निर्माण गर्ने सपना देख्दा आफूहरूले मानसिक यातना भोग्नुपरेको बताएका छन्।
उनले भने, ‘‘यदि एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रङ्गशाला निर्माण स्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ। तर, अब यो मानसिक यातना धेरै सहन सक्दिनँ।’’
धुर्मुस–सुन्तली फाउण्डेशनमार्फत कलाकार धुर्मुसले आफूमाथि लागेको आरोप र क्रिकेट रङ्गशालाबारे स्पष्टीकरण दिए। उनले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरे। धुर्मुसले सरकारले निर्णय देला र हरहिसाब सार्वजनिक गरौँला भनेर बस्दाबस्दै डेढ वर्ष बितेको बताए।
एकपछि अर्को समिति बन्दा पनि निर्णय नभएको भन्दै धुर्मुसले भने, ‘‘सरकार भनेको अभिभावक हो, अभिभावकले सन्तानलाई माया दिन्छ होला भनेको, रुँदै हिँड्नुपरेको छ ।’’
धुर्मुसले रङ्गशाला निर्माण गर्न सहयोग गर्नेहरूलाई पनि धन्यवाद दिएका छन्। धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्षसमेत रहेका धुर्मुसले भने, ‘‘कोही कसैलाई हाम्रो हिसाब चित्त बुझेको छैन भने एक पटक रङ्गशाला आइदिनुस्। तपाईँले गरेको सहयोग बराबर संरचना बनेको ठहर्याएर म मर्न तयार छु। तर मलाई पलपल नमारिदिनुस्।’’