ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेषले ट्राई नेसन्स टि–ट्वान्टी क्रिकेट श्रृखंलामा नेपाललाई लगातार दोश्रो जित दिलाएका छन्। युवा ओपनरद्वयले लगातार दोश्रो पटक शतकिय साझेदारी गर्दै नेपाललाई मलेसियाविरुद्ध ४७ बल बाँकी छँदै ९ विकेटकाे शानदार जित दिलाएका हुन्।
१ सय १० रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो आभरदेखी नै आक्रामक व्याटिङ गरेको थियो। मलेसियाको लागि पहिला ओभर बलिङ गर्न आएका पवनदिप सिंहको दोश्रो बलमै कुशलले छक्का प्रहार गर्दै खाता खोलेका थिए। त्यसपछि ओपनरद्वयले मलेसियाको बलिङ आक्रमण ध्वस्त पार्दै आक्रामक शतकिय साझेदारी गर्दै नेपाललाई शानदार जित दिलाएका हुन् ।
यसक्रममा कुशलले ४१ बलको सामना गर्दै ५ छक्का र ३ चौकाको मदतमा अविजित ६१ रन बनाए भने अर्का ओपनर आसिफले २९ बलमा १ छक्का र ४ चौकाको मदतमा ४२ रनको ठोस पारी खेले। उनलाई ११ औं ओभरको पहिलो बलमा भिरनदिप सिंहले अनवर रहमानको हातबाट कभरमा क्याचआउट गराएका थिए। त्यसपछि व्याटिङमा आएका नेपाली टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३ बलमा १ चौका प्रहार गर्दै अविजित ६ रन बनाए।
यसअघि पहिले व्याटिङ गरेको मलेसिया १६ ओभर ५ बलमा १ सय ९ रन बनाएर अलआउट भएको थियो। उसका लागि ओपनर सैयद अजिजले २४ बलमा १ छक्का र ४ चौकाको मदतमा २७ रन बनाए भने शरवि मुनियान्डीले १५ बलमा २० र शफिक शरिफले १३ बलमा १५ रन बनाए।
मलेसियालाई सस्तोमै समेट्ने क्रममा नेपालका स्टार अलराउण्डर करन केसीले ३, सन्दिप लामिछानेले २, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्लले समान १–१ विकेट लिएका थिए। आजको खेलमा करण केसी प्लेयर अफ दि म्याच घोषित भए।
यसअघि श्रृखंलाको पहिलो खेलमा पनि कुशल र आसिफले नेदरल्याण्ड्सबिरुद्द किर्तिमानी १ सय १६ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका थिए। श्रृखंलाअन्र्तगत चौथो खेलमा नेपाल र नेदरल्याण्ड्स बुधबार टियू मैदानमा फेरी भिड्दैछन्।